
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका तीर्थस्थलहरूको पहिचान एवं व्याख्यान गरी भारतमा प्रचारप्रसार गरेर भारतीय धार्मिक पर्यटक भित्र्याउन दुवै देशका ब्राह्मणले सहयोग आदानप्रदान गर्ने भएका छन् । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आज सम्पन्न ब्राह्मण अन्तरराष्ट्रिय सम्मेलनले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा दुवै देशका ब्राह्मणले सहकार्य र समन्वय गर्ने भएका हुन् । ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा सम्मेलन गरिएको हो । सम्मेलनले आज जारी गरेको घोषणा एवं सङ्कल्पमा विश्वभरका जन्मना र कर्मणा ब्राह्मण एक भई सनातन संस्कार र संस्कृतिको संरक्षणमा ऐक्यबद्धता कायम गर्ने भएका छन् । विश्वभरका ब्राह्मणको ज्ञान, विज्ञान र कर्मलाई आ–आफ्नो मुलुकको सत्शासन व्यवस्थामा प्रयोग गरी सनातन जीवन पद्धतिका माध्यमबाट विश्व शान्ति कायम गने अभियान चलाइने घोषणा प्रा डा माधवप्रसाद पाण्डेयले गर्नुभयो । विश्वभरका ब्राह्मणलाई एउटै छातामुनि ल्याउने, धेरै ब्राह्मणको बसोबास रहेको नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा यसलाई उपयोग गर्ने घोषणा भएको छ । वैदिक सनातन समाज व्यवस्थापनलाई सर्वोपरी मानी वैदिक शासन पद्धति, वैदिक कृषि पद्धति, वैदिक यज्ञ विधान, वैदिक कर्म पद्धतिलगायत विषयमा अध्ययन, अनुसन्धान गराई समाज विकासमा लगाइने भएको छ ।
आदिम सनातन वैदिक भूमि नेपालबाट विश्वबन्धुत्वको भावनालाई चरितार्थ गराउन मानवीय सेवा कार्यलाई विस्तार गरिने भएको छ । प्राचीन ग्रन्थ वेद, पुराण, उपनिषद्लगायत सत् ग्रन्थहरुको संरक्षण गर्दै विभिन्न भाषामा अनुवादसमेत गराएर सनातन धर्मको प्रचारमा सहयोग पु¥याइने भएको छ । नेपाल, भारत तथा सनातन धर्मावलम्बीको बसोबास रहेको अन्य देशमा गाईको संरक्षण गरिने भएको छ । गुरुकुलीय शिक्षा पद्धतिको अभियानलाई पनि अघि बढाइने राष्ट्रिय धर्मसभा नेपालको अध्यक्षसमेत रहनुभएका पूर्वनायब बडा गुरुज्यु डा माधव भट्टराईले बताउनुभयो । नदी, नाला, खोला, कुवा, धार्मिक, सांस्कृतिकस्थल संरक्षण गरी प्राकृतिक पर्यावरण जोगाउने अभियानसहित वैदिक यज्ञ एवं उपासना विधिविधानको प्रचारप्रसार गराउने घोषणा पनि विश्वभरका ब्राह्मणले गरेका छन् । ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट (पञ्जीकृत) भारतसँग सम्बद्धता रहनेगरी अन्तरराष्ट्रिय ब्रह्मण समाज नेपालको गठन गर्ने घोषणासमेत सम्मेलनबाट भएको मुख्य संरक्षकसमेत रहनुभएका गर्गाचार्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।सम्मेलनले जारी गरेको १६ बुँदे घोषणा पत्रको प्रेरणाको स्रोत विश्वको सर्वोच्च शिखर सगरमाथा, वेदव्यास एवं कालीदास तथा बुद्ध जन्मभूमि नेपाललाई मानिएको नेपाल शाखाका संयोजक धर्मराज बरालले बताउनुभयो ।
रासस