२०८२ फाल्गुन २२ , शुक्रवार

सङ्गमेश्वर महादेव मन्दि राधेराधेवासीका आस्थाको धरोहर बन्दै

1749113840-6LYbK

सुनाखरी न्युज/ काठमाडौं ।

मध्यपुरथिमि नगरपालिका-५ सङ्गम कोलोनी, कमेरोटार राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिर यहाँका हजारौँको आस्थाको धरोहर बनेको छ । सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको ११औँ साधारणसभामा सहभागी अधिकांश स्थानीय एवं संस्थाका सदस्यहरूले पातलो बस्ती हुँदा स्थापना भएको मन्दिरले आज ११ वर्ष पार गर्दा हजारौँ स्थानीयको आस्थाको धरोहर र धार्मिक कार्य गर्ने पवित्रस्थलका रूपमा विकास भएको चर्चा गर्नुभएको हो । कार्यक्रममा डा अशोक महासेठले मन्दिर स्थापनाका बारेमा जानकारी दिँदै बसाइँसराइ गरेर विभिन्न जिल्लाबाट आएर पातलो बस्तीका रूपमा स्थापित यस क्षेत्रमा मन्दिर अभावलाई पूरा गर्न करिब २५ परिवार स्थानीयको पहलमा निर्माण भएको उल्लेख गर्नुभयो । सोही मन्दिर आज हजाराैँ स्थानीयको आस्थाको धरोहर बनेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा मन्दिर नहुँदा कुनै धार्मिक कार्य गर्नुपर्दा टाढा जानुपर्ने बाध्यता थियो ।

मन्दिरको स्थापनाले स्थानीयलाई महाशिवरात्रि, तीजलगायत विभिन्न धार्मिक कार्य गर्न, विभिन्न धार्मिक साँझ आरतीको परम्परा सुरु गर्न, भजनकीर्तनलगायत कार्यमा यहाँका बासिन्दालाई एकताको सुत्रमा बाँध्न सफल भएको डा महासेठले बताउनुभयो । संस्थाका अध्यक्ष मोहनवीर सिंह प्रधानले मध्यपुरथिमि नगरपालिका–५ र ९ को सङ्गमस्थलमा रहेको सङ्गम कोलानी, राधेराधे, निकोसेरालगायत क्षेत्रका बासिन्दाको आस्थाको धरोहर बन्दै आएको बताउनुभयो । उहाँले मन्दिर २०७४ साालमा लगाइएको महायज्ञबाट सङ्कलित रकम, दाता र स्थानीयवासीको आजीवन सदस्यता, वार्षिक दानबाट सञ्चालन हँुदै आएको जानकारी दिनुभयो । अध्यक्ष प्रधानले भन्नुभयो, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ सालमा महायज्ञ लगायौँ, महायज्ञबाट करिब रु ४१ लाख सङ्कलन भयो । तत्कालीन भक्तपुर २ नं क्षेत्रका सांसदले सांसद कोषबाट रु पाँच लाख सहयोग गर्नुभयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु १८ लाख दियो । स्थानीय दाताबाट पनि रकम सङ्कलन भयो, त्यसपछि मन्दिर, सत्तललगायत सुन्दर संरचना निर्माणलाई पूर्णता दिँदै हाल स्थानीयवासीले मन्दिरको विकासमा टेवा पु¥याउँदै आउनुभएको छ ।”

पाँच आना क्षेत्रफलमा परम्परागत शैलीको दुई सत्तल, शिवको आकर्षक मन्दिर निर्माण गर्नुका साथै तामा र पित्तलको छानो हाल्ने, सत्तलमा काठको आकर्षक झ्याल हाल्ने, मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिरभित्र अन्य देवताका मूर्ति स्थापना गर्नेलगायत कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । संस्थाका उपाध्यक्षमा शिवप्रसाद वाग्लेले संस्थाको स्थापनाकालदेखिको परिचय प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव कृष्णहरि देवकोटाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्षमा सुनिल ढकालले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को आर्थिक प्रतिवदेन र लेखा सुपरिवेक्षन सयोजक रमेशकुमार पोखरेलले प्रस्तुत गर्नुभएको लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । हाल मन्दिरमा पुजारीको व्यवस्थापन मन्दिरको रेखदेख गर्ने, दैनिक नित्य पूजा तथा आरतीका लागि पूजारीगन हरेक सोमबार साँझ ६:०० बजेदेखि भजन र साँझ ७ः०० बजे विशेष आरती गर्ने, एकादशी महिला समूहबाट भजन गर्नेलगायत कार्य गरिँदै आइएको संस्थाले जनाएको छ । तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिस बस्ने यस क्षेत्रमा स्थापित उक्त मन्दिरमा साउनको सोमबार, महाशिवरात्रि, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशीलगायत विभिन्न तिथि तथा पर्वमा मेला लाग्ने गर्दछ ।
रासस