
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशहरूबाट आउने शरणार्थीहरूलाई सधैँका लागि रोक्ने बताएका छन् ।
सामान्यतया तेस्रो विश्व अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्यपूर्वका कम आय वा तल्लो-मध्यम आय वर्ग रहेका देशहरू रहने सूची हो, जसको कुनै कानुनी मान्यता भने छैन ।
अमेरिकालाई फेरि महान बनाउन यो निर्णय गर्नुपरेको ट्रम्पको तर्क छ ।
वासिङ्टन डीसीमा २ जना नेसनल गार्ड्सको मृत्युपछि ट्रम्पले बिहीबार यो घोषणा गरेका हुन् । उनले यस हमलालाई शरणार्थीसँग जोडेर व्याख्या गरे।
ट्रम्पले अध्यागमन नीतिका कारण देशका मानिसहरूको जीवन झन् खराब भएको बताए।
ट्रम्पले भने, ‘जो मानिसहरू अमेरिकाका लागि फाइदाजनक छैनन् वा जो हाम्रो देशलाई साँचो माया गर्दैनन्, उनीहरूलाई पनि हटाइनेछ।’
ट्रम्पले अध्यागमन नीतिलाई अझ कडा गर्ने प्रतिबद्धता व्यक्त गरे। ट्रम्प प्रशासनले बिहीबार १९ देशबाट आएका प्रवासीहरूको कडा जाँच गरिने घोषणा गरेको थियो।
१९ देशका प्रवासीहरूको जाँच हुने
ट्रम्पको ‘थर्ड वर्ल्ड’ देशका शरणार्थीहरूलाई देशमा प्रवेश बन्द गर्ने घोषणा युएससीआईएसको घोषणाभन्दा पनि ठूलो छ। यो एजेन्सीले अमेरिकामा प्रवासीहरूसँग सम्बन्धित कामहरू हेर्छ।
युएससीआईएसका निर्देशक जोसेफ एडलोले बिहीबार यसले अब अफगानिस्तानसहित १९ देशका यसअघि नै अमेरिकामा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) पाइसकेका मानिसहरूको जाँच गर्न गइरहेको जानकारी दिएका छन् ।