
सुनाखरी न्युज/ काठमाडौं ।
मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा आज भवनको शिलन्यास गरिएको छ । त्यस अवसरमा स्वामी ज्ञानानन्द सरस्वतीसँगै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी, भरतपुर महानगरपालिकाका जनप्रतिनिधि एवं भूमि दाताहरूले संयुक्त रूपमा भवनको शिलन्यास गर्नुभएको हो । ज्ञानानन्द सरस्वतीले आदर्श गृह नेपालजस्ता संस्थाहरूले समाजलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै भवन निर्माणको महान अभियानमा सहभागी भई पुण्यको कार्य गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो । संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताउनुभयो ।
हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उहाँले बताउनुभयो ।हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिनुभयो । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् । भूमिदाता तथा सहयोगीबाट सङ्कलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट सङ्कलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताउनुभयो । संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक सङ्कलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताउनुभयो । हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशङ्कर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
रासस