
सुनाखरी न्युज/ काठमाडौं ।
एसियाली विकास बैङ्क (एडीबी) ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, “जलवायु–स्मार्ट” खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित ८ हजार भन्दा बढी स्थानीय मानिसका लागि आर्थिक अवसर सिर्जना गर्ने जनाइएको छ । एडीबीको उत्तरपूर्वी आर्थिक कोरिडोर अध्ययनले मेघालयको विकासका प्रमुख अवयवका रुपमा प्रकृतिमा आधारित पर्यटन र व्यावसायिक कृषिलाई पहिचान गरेर परियोजनालाई आकार दिन मद्दत गरेको छ ।
परियोजनाका मुख्य घटकहरूमा प्रकृतिमा आधारित पारिस्थितिक पर्यटन आगन्तुक सुविधाहरू निर्माण गर्ने समावेश छ जसले परम्परागत शिल्प र सीपहरूका लागि व्याख्या केन्द्र र प्रदर्शन क्षेत्रहरू र कृषि उत्पादनहरूका लागि बजारका रूपमा काम गर्दछ । यस परियोजनाले पारिस्थितिक प्रणालीमा आधारित भुक्तानी मार्फत २५ हजार हेक्टर सामुदायिक वन पुनस्र्थापना गर्ने जनाइएको छ । यसका साथै जलवायु “स्मार्ट अभ्यास” अपनाउन र सिँचाइ प्रणालीहरूको पुनःस्थापना गर्न किसानहरूलाई सहयोग गर्नेछ । यसका साथै एडीबीले संस्थागत क्षमता बढाउन, बजार सम्बन्धलाई सुदृढ पार्न र कार्बन र जैविक विविधता जस्ता नवीन वित्तीय संयन्त्र मार्फत दिगोपन सुनिश्चित गर्न थप १० लाख डलर प्राविधिक सहायता अनुदान प्रदान गर्नेछ ।
रासस/सिन्ह्वा