
सुनाखरी न्युज/ काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका मध्यवर्ती सामुदायिक वनक्षेत्र गैँडा अवलोकनको गन्तव्य बन्दै गएका छन् । जिल्लाको कावासोती नगरपालिकामा अस्थित मध्यवर्ती वन क्षेत्र पछिल्लो समय गैँडा अवलोकनको प्रमुख गन्तव्य बन्दै गएका छन् । यहाँका नमूना, कृष्णसार, गुन्द्रही ढकाहा र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको नमूना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बनाउनुभयो । जिल्लाको पर्यटकीय क्षेत्रका रूपमा परिचित अमलटारी र पिठौलीसँगै जोडिएका चार वटा मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनको उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको अध्यक्ष गुरुङले बताउनुभयो । गैँडासहितका वन्यजन्तुको सहज अवलोकनका लागि नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदानसमेत निर्माण गरिएको वनका अध्यक्ष गुरुङले बताउनुभयो ।
वनले हालै सौर्य ऊर्जाबाट स्वचालित बोरिङ राखेर वन्यजन्तुका लागि पानीको प्रबन्ध गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । नवलपरासी पूर्व नवलपुरको अमलटारी क्षेत्रमा रहेका सामुदायिक वनमा सहजै गैँडा अवलोकन गर्न सकिने भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चाँप बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत पर्ने यहाँका सामुदायिक वनमा सहजै गैँडा अवलोकन गर्न सकिने हुँदा यहाँ पर्यटकको चाँप बढेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । सामुदायिक वनमा घाँसे मैदानको व्यवस्थापन , सिमसार क्षेत्रको संरक्षण जस्ता कार्यले वन्यजन्तुको सङ्ख्या बढेको वनका अध्यक्ष महतोले बताउनुभयो । यहाँ मुख्यगरी गैँडा, मृग, मयुर लगायतको अवलोकन सहजै रूपमा गर्न सकिने उहाँको भनाइ छ । गर्मी मौसममा यहाँका सिमसार क्षेत्रमा सहजै गैँडा अवलोकन गर्न सकिन्छ । यहाँ रहेका चार वटा सामुदायिक वन क्षेत्रमा करिब ४२ वटा गैँडा रहेको अध्यक्ष महतोले बताउनुभयो । पछिल्लो गैँडा गणनामा यस क्षेत्रमा यो सङ्ख्यामा गैँडा भेटिएको उहाँको भनाइ छ ।
अमलटारी (होमस्टे) घरबाससहित थारू रहनसहन र संस्कृति अवलोकन गर्न पाइने यहाँ , अहिले वन्यजन्तु अवलोकनको गन्तव्य बनेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका पर्यटक दैनिकजसो गैँडा अवलोकनका लागि जङ्गल सफारी गर्न आउने गरेको अध्यक्ष महतोले बताउनुभयो ।‘अमटारी घरबास थारु रहनसहनको लागि पहिचान त बनाएकै छ, पछिल्लो समय गैँडा अवलोकनको गन्तव्यलेसमेत परिचित हुँदै गएको छ’अध्यक्ष महतोले भन्नुभयो । यहाँका मध्यवर्ती वनभित्र गैँडा अवलोकनका लागि रु आठ हजारदेखि रु दश हजारसम्ममा जिप सफारी गराउने गरिएको छ । बाह्र जनासम्म जिपमा सवार गर्न सक्ने र वन क्षेत्रमा तीन घण्टाको यात्रा रहने अध्यक्ष महतोले बताउनुभयो । चारवटा सामुदायिक वनलाई जोडेर वनभित्र पर्यटन मार्ग निर्माण गरिएको छ । जुन कुनै वन क्षेत्रबाट यहाँ प्रवेश गरेपनि प्राप्त हुने आम्दानी सबैलाई बाँड्ने गरिएको उहाँले बताउनुभयो ।
रासस