
सुनाखरी न्युज / काठमाडौं ।
रामकलेवा गरी सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रूपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्ठान भोजन गराई बिदाइ गरी महोत्सव सम्पन्न भएको हो । आज पनि जानकी मन्दिर प्रांगणमा साधुशन्तलाई मिष्ठान भोजन गराई दान दक्षिणा दिएर स-सम्मान बिदाइ गरिएको हो । यो विधिलाई रामकलेवा भन्ने गरिन्छ ।
साधुशन्तलाई दक्षिणामा न्यानो चादर, कमण्डल र रुपैयाँ पैसा दिइएको छ
जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सांस्कृति गीतनाद प्रस्तुत गरि हास्य व्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्न दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यसअघि हिजो दिउँसो वैदिक परम्परा अनुसार स्वयम्बर तथा रातभर विवाहको काज चलेको थियो । त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।