२०८२ फाल्गुन २२ , शुक्रवार

पद्मकन्या बहुमुखी क्याम्पसको ७५ औं हीरक जयन्ती राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न

PK

सभ्यता तिवारी / काठमाडौं ।
पद्मकन्या बहुमुखी क्याम्पसले शुक्रबार आफ्नो ७५ औं हीरक जयन्ती भव्य रूपमा मनाएको छ। कार्यक्रममा राष्ट्रपति  रामचन्द्र पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. जया लक्ष्मी प्रधानले गर्नुभयो।

 

 

उच्च पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र आमन्त्रित अतिथिहरूको उपस्थितिले कार्यक्रमको गरिमालाई थप बलियो बनाएको थियो। सात दशकभन्दा बढीको शैक्षिक योगदान र नारी शिक्षाको ऐतिहासिक भूमिकालाई औपचारिक रूपमा स्मरण गर्दै क्याम्पसले आफ्नो संस्थागत यात्राको महत्वपूर्ण चरणलाई यस समारोहले चिन्हित गरेको छ।
कार्यक्रमको प्रारम्भमै राष्ट्रपति पौडेल र क्याम्पस प्रमुख डा. जयालक्ष्मी प्रधानले संयुक्त रूपमा हीरक जयन्ती स्तम्भको उद्घाटन गर्नुभयो । स्तम्भ अनावरणपछि राष्ट्रपति पौडेलले क्याम्पसको शैक्षिक उन्नतिमा योगदान पुर्‍याएका प्राध्यापक, सहप्राध्यापक तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा सम्बोधनका क्रममा उहाँले क्याम्पसको आधारभूत योगदानका लागि प्रशंसा व्यक्त गर्दै भन्नुभयो,  “नेपाली नारीहरूका लागि उच्च शिक्षाको ढोका पद्मकन्या क्याम्पसले नै खोलेको हो। मुलुकका हरेक क्षेत्रमा स्थापित धेरै महिलाहरू यही क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छ। स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिने छ भनी विश्वास व्यक्त गर्छु।”

समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको सांगीतिक र सांस्कृतिक कार्यक्रमले वातावरणलाई उत्सवपूर्ण बनायो। उत्कृष्ट शैक्षिक र सहशैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई पदक र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। क्याम्पस प्रशासनका अनुसार विद्यार्थीहरूको सफलताले संस्थाको शैक्षिक स्तर र गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षमतालाई पुष्टि गर्दछ।

कार्यक्रमको समापनमा क्याम्पस प्रमुख डा. प्रधानले राष्ट्रपति पौडेलप्रतिको आभार व्यक्त गर्दै आगामी शैक्षिक विस्तारको क्रममाँ क्याम्पसले नारी शिक्षालाई समावेशी, गुणस्तरीय र राष्ट्रिय आवश्यकता अनुरूप प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। उहांको भनाइ अनुसार, “क्याम्पसमा हाल ८२४५ विद्यार्थी अध्ययनरत छन्। विभिन्न तहका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् र अब कानून संकाय ९एलएलबी०लाई औपचारिक रूपमा स्वागत योजना रहेको छ।”

क्याम्पसका अनुसार हीरक जयन्तीले संस्थाको ऐतिहासिक यात्रा स्मरण मात्र नभई भविष्यमा शैक्षिक सुधार, विषयगत विविधता, पूर्वाधार सुदृढीकरण, अनुसन्धान प्रवर्द्धन र विद्यार्थी संख्या वृद्धि जस्ता क्षेत्रहरूमा दीर्घकालीन योजनालाई अघि बढाउने अवसर सिर्जना गरेको छ। यस समारोहले क्याम्पसको शैक्षिक स्थायित्व, नारी सशक्तीकरण र राष्ट्रिय मानव पूँजी निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धतालाई सार्वजनिक रूपमा पुष्टि गरेको छ।