२०८२ फाल्गुन २३ , शनिवार

न्याय परिषदमा न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट

aadalat_sarbochha

सुनाखरी न्युज/ काठमाडौं ।

न्याय परिषदमा न्यायाधीशहरु विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएका छन् । जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल छानबिनका लागि परमादेश माग गरेका छन् । सर्वोच्च अदालतले भने न्याय परिषदविरुद्ध परेको रिट अध्ययनको क्रममा रहेको जनाएको छ । अधिवक्ता धामीले खराब आचरण र कार्यक्षमता अभावको कारण देखाउँदै ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध गत साउन ६ गते न्याय परिषदमा उजुरी दिएका थिए । अधिवक्ता धामीले न्यायाधीश कृष्णराम कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाउँदै न्यायाधीशमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । कानुनअनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भए पनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ । त्यसरी दिएको उजुरी सामान्यतया तीन महिनाभित्रमा प्रारम्भिक छानबिन भइसक्ने र ततपश्चात् परिषद्को निर्णय बमोजिम हुने भनिएको छ ।