२०८२ फाल्गुन २३ , शनिवार

साइपाल, अपिलाई पर्यटकीय गन्तव्य बनाइँदै

1640676499-StesU

सुनाखरी न्युज/ काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ । नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन् । साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका साथै अन्य अत्यावश्यक पूर्वाधारबारे दुई साता अध्ययन गरिएको सहारा नेपालका स्रोत व्यक्ति वसन्त बोहराले राससलाई बताउनुभयो । पहिलो चरणमा होमस्टे, विश्रामस्थल, पुलपुलेसा तथा पदमार्ग निर्माणका लागि अध्ययन भएको जानकारी दिँदै उहाँले अब स्थानीयको सहयोगमा पूर्वाधार निर्माण थालिने बताउनुभयो ।

बझाङको साइपाल गाउँपालिकाको निलखटी हिमाल, सुर्मा गाउँपालिकाको बिरू ओडार र अपि हिमाल गाउँपालिकाको अपि आधार शिविर क्षेत्रको बीचमा पर्ने कालागाडमा पर्यटकका लागि धेरै संरचना बनाउनुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय क्षेत्रको विस्तारका लागि साइपाल गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा पर्यटकीय संरचना निर्माण गरिरहेको उक्त गाउँपालिकाका इन्जिनियर सुशील बोहराले बताउनुभयो । मानव बस्तीको अन्तिम गाउँ धुलीबाट अपि हिमालको आधार शिविरसम्म पुग्न एक साताभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । बीचमा पाँच हजार २०० मिटर उचाइमा रहेको निलखटी हिमाल पार गरेर बिरू ओढार, कालागाड हुँदै अपिको फेदसम्म पुगिन्छ । उहाँले हिउँदमा हिमाल क्षेत्र पार गर्न नसके पनि अरु बेला पर्यटकलाई. यात्रा गर्न सहज हुने बताउनुभयो । “विगतमा साइपालबाट अपि जाने पर्यटकलाई पैदलयात्राको समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त्यो समस्या हट्ने छ । अर्को वर्षदेखि पर्यटकले बाटोमा बासका साथै खाना पनि पाउने छन् । पर्यटकका लागि आधारभूत संरचना निर्माण गरिने छ ।”

धुलीभन्दा माथि सञ्चारको समस्या भएकाले नेपाल टेलिकमसँगको साझेदारीमा त्यो समाधान गर्न सकिने बताउँदै भन्नुभयो, “अहिले धेरै समस्या भनेको नेटवर्कको छ । निलखटी पाटन (चार हजार तीन सय मिटर उचाइ) सम्म मात्रै नेटवर्क हुने हो भने पर्यटकलाई ठूलै राहत हुने थियो ।”हाल पर्यटकहरू साइपालबाट ताक्लाकोट नाका वा उरै लेकसम्म जाने गरेका छन् । निलखटी हुँदै अपिसम्म जानेहरू खासै भेटिँदैनन् । पदमार्ग नभएकाले साइपालका सुन्दर स्थल आन्तरिक एवं बाह्य पर्यटकले देख्न नपाएका साइपाल गाउँपालिका–३ का गोपी बोहरा बताउनुहुन्छ । “पैदलमार्ग नभएकाले आएका केही पर्यटक पनि फर्कन्थे । अब बाटो खुलेपछि ताक्लाकोट जानेभन्दा बढी पर्यटक साइपाल–अपि रूटबाट यात्रा गर्ने विश्वास छ ।” उहाँले भन्नुभयो । पर्यटक आएपछि स्थानीयका लागि रोजगारीका अवसर सृजना हुनेमा साइपाल गाउँपालिका–४ धुलीका उमेश रोकाय ढुक्क हुनुहुन्छ । “हाम्रो साइपालमा सयौँ पर्यटकीयस्थल छन् । अब यहाँ पर्यटक आइरहने वातावरण बन्दैछ । त्यसपछि केही नभए पनि भरिया र सहयोगीले काम पाउने छन्”, उहाँले भन्नुभयो । अपि–साइपाल क्षेत्रमा बाटो बनेपछि बेमौसममा पनि स्थानीयले काम पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
रासस