२०८२ फाल्गुन २७ , बुधवार

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

kolenika-manang_nabaraj-paudyal-768×382-1

सुनाखरी न्युज/ काठमाडौं ।

मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनबाट सेवा प्रवाहको प्रारम्भ गर्नुभयो । उहाँले नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो, सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्नका निम्ति सम्पूर्णमा आह्वान गर्नुभयो । उहाँले मनाङको समग्र आर्थिक व्यवस्थापन सुदृढीकरण र विकासका क्षेत्रमा नेपाल सरकार निरन्तर साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महालेखा नियन्त्रक पौडेलले भवन निर्माण समयमै सम्पन्न गरेकामा कोलेनिका र निर्माण कम्पनी दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनबाट सेवा प्रवाहले कार्यालयका कर्मचारीमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना थप्ने बताउनुभयो । उहाँले कोलेनिका मनाङलाई उच्च मनोबलका साथ पारदर्शी र प्रभावकारी सेवामा समर्पित रहेर जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सबै सरकारी कार्यालय आफ्नै भवनबाट प्रवाह गर्न सहयोग तथा समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वर्तमान परिवेशमा कर्मचारीमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै जनसेवामा पूर्ण समर्पित रहन निर्देशन दिनुभयो । कोष नियन्त्रक सुवास अधिकारीले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहमा सहज भएको बताउनुभयो । उहाँले तालुक निकायको निर्देशन र सेवाग्राहीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले नयाँ भवनको प्रयोगले सेवाको गुणस्तर र पहुँचमा थप सुधार आउने बताउनुभयो ।
रासस