२०८२ फाल्गुन २४ , आइतवार

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : नेता पौडेल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन्। धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए । बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन। फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’ दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए । ‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन । नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन। त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ।’ उनले भने।

१६ वर्षकालाई मतदान, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था घटाउन माग

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि बढीभन्दा बढी नागरिकको सहभागीताका लागि भन्दै मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम हुनुपर्ने बताए। यसले जागरुक नागरिकलाई मतदानमा सहभागी हुने अवसर प्रदान गर्ने र अधिक सहभागीतामूलक हुने उनको तर्क छ।