२०८२ फाल्गुन २२ , शुक्रवार

मेलम्चीको पानी पथान्तरणमा अवरोध नगर्न स्थानीय सहमत

Melamchi-Khanepani-Sahamati-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।

मेलम्चीको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् ।

 

ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा भएको अवरोध समाधान भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार राति १० बजेसम्म  भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

 

स्थानीयले पाँच दिनदेखि आयोजनाको पानी पथान्तरण रोकेपछि सरकारको तर्फबाट खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यको उपस्थितिमा मेलम्ची खानेपानी आयोजना, मेलम्ची बाढी पीडित संघर्ष समिति लगायत विभिन्न राजनीतिक दल र स्थानीयवासीका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता हुँदै आएको थियो । सोही वार्ता मंगलबार मन्त्री घिसिङ पनि सहभागी थिए ।