२०८२ फाल्गुन २२ , शुक्रवार

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

civil-demo

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न मेसिन तथा उपकरण बनाएका छन् । यसैगरी कृषि कार्य गर्दा धान काट्ने, दाईं गर्ने, मल तथा पानी छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरणसहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवेलगायत विभिन्न्न मेसिन र उपकरण बनाइएका हुन् । मनोमोहन पोलिटेक्निकका इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीहरुको समूहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै चलाएर विश्वविद्यालयमा सोमबार प्रर्दशनसमेत गरिएको थियो ।

यसैगरी उक्त विश्विद्यालयका इलेक्ट्रिक एन्ड इलेक्ट्रिोक्स इन्जिनियरिङतर्फका विद्यार्थीहरुले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरी प्रदर्शन गरेका छन् । सिभिलतर्फका विद्यार्थीहरुले भूकम्परहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्प्लेक्स र व्यापारिक मल लगायतका सातवटा डेमो प्रदर्शन गरेका थिए । सूचना प्रविधि विभागका विद्यार्थीले सफ्टवेयर निर्माण गरी रक्तदान गर्न सहयोग पु¥याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइनमार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका प्रदर्शन गरेका छन् । यसैगरी मेकानिकलतर्फका विद्यार्थीहरुले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), स्वचालित वासिङ मेसिन र स्वचालित राइस प्लान्ट आदि उपकरणको डेमो प्रदर्शन गरिएको थियो । पोलिटेक्निकका तीनवर्षे डिप्लोमा पास आउट भएर जाने विद्यार्थीले हरेक वर्ष बनाएका विभिन्न उपकरण प्रदर्शन गर्दै आएका छन् तर ती उपकरणको व्यावसायिक प्रयोजनमा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्ने गरेको पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले बताउनुभयो ।
रासस