२०८२ फाल्गुन २५ , सोमवार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

Sumitra-subesi

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै उनको ठाउँमा राजनीतिक विश्लेषक सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश प्रमुख सम्बन्धित प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा काम गर्छन्।

भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।

त्यसपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्था छ।