२०८२ फाल्गुन २३ , शनिवार

थाहा बसपार्क सञ्चालनमा, नगर प्रमुखद्वारा उद्घाटन

bas15

सुनाखरी न्युज/ काठमाडौं ।

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी बसपार्कको माग गर्दै आएका स्थानीय युवाहरूको निरन्तर दबाबपछि नगर प्रमुख विष्णु बिष्टले एक औपचारिक समारोहका बीच बसपार्कबाट सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख विष्टले बसपार्कको पूर्ण निर्माणमा ठेकेदारको ढिलासुस्ती भएको बताउँदै छिटोभन्दा छिटो बाँकी संरचना पूरा गर्न संघीय सरकारलाई घच्घच्याउने प्रतिबद्धता जनाए। उनले भने, “बसपार्क सञ्चालन कार्यविधिअनुसार नै व्यवस्था मिलाइनेछ, स्थानीय युवाहरूको माग र सहकार्यबाट यो निर्णय कार्यान्वयनमा आएको हो।”

नगर उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यससँगै नयाँ चुनौतीहरू पनि थपिएको बताए। उनले यातायात व्यवसायीहरूसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार विकासमा समुदायसँगै अघि बढ्ने प्रतिबद्धता जनाए। थाहा बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्रीको सभापतित्वमा सम्पन्न समारोहमा उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष नारायण लामा, उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, प्रमुख राजनीतिक दलका नगर अध्यक्षहरू लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ऋषेश्वर महिला खैचडी भजन समूहले भजन प्रस्तुत गरेको थियो। हाल बसपार्कमा बिजुली जडान, खानेपानी, शौचालय र यात्रु बस्ने कुर्सीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ। कार्तिक १९ गतेदेखि यहाँबाट यात्री बाहक बस, सुमो र इभि सवारी साधनहरू सञ्चालनमा आएका छन्। थाहा नगरपालिका कार्यपालिकाको बैठकले स्वीकृत गरेको “थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०” अनुसार बसपार्क नगरपालिकाको मातहतमा रहनेछ।