
सुनाखरी न्युज/ काठमाडौं ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण आजैबाट प्रभावित हुने भएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए ।
मुहान थुनिदिएपछि उपत्यकाको खानेपानी वितरण प्रणालीमा निकै ठूलो असर पर्ने भएको छ । मेलम्चीबाट सुरुङमार्फत दैनिक करिब २० करोड लिटर पानी पठाइने गरेको छ ।
पानी वितरणको जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि काठमाडौंको आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिने जनाएको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंका थोक वितरण केन्द्रहरूमा पठाइएको पानी पूर्ण रूपमा बन्द हुने जानकारी केयूकेएलले दिएको छ ।
संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार मुख्य खोला मेलम्ची र सहायक रिबर्मा खोलाको पानी बन्द गरिएको छ । सरोकार समितिको नाममा मेलम्चीको काठमाडौंस्थित मुख्य कार्यालयस्थित कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएको ५ दिनका दिन मुहानबाट काठमाडौं ल्याइएको पानी खोलामा फर्काइएको हो ।
केयूकेएलका प्रवक्ता प्रकाश राईले मुहान बन्द भएपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट वितरण गर्न सक्ने अवस्था नरहने बताए । उनले भने, ‘पानीको अभाव हुन्छ, अहिले जसरी वितरण गर्न सक्दैनौं ।’ केयूकेएलका अनुसार दैनिक झन्डै २० करोड लिटर पानी अभाव हुँदा पहिलेकै जसरी नियमित रूपमा पानी वितरण हुन सक्दैन ।
२०७८ असारमा गएको बाढीपहिराले मुहान क्षेत्र हेलम्बु र मेलम्चीमा धनजनको ठूलो क्षति गरे पनि मेलम्ची आयोजनाले स्थानीय समस्याप्रति बेवास्ता गरेका कारण पानी नै बन्द गर्नुपर्ने अवस्था आएको जानकारी स्थानीय राजनीतिक अगुवा राजकुमार भण्डारीले दिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले स्थानीयले एक्स्काभेटरको सहयोगमा पानी खोलातिर फर्काएको जानकारी दिए । उनले मेलम्चीबाहेकको खहरेको पानी सुरुङमा पठाउन तयार गरेको संरचनाको पाइप फुटाइएको र कर्मचारी तथा मर्मतसम्भारमा खटिएका कामदारलाई जबर्जस्ती हटाएर पानी खोलामा पठाएको बताए । संघर्ष समितिले एक्स्काभेटर मेलम्चीकै प्रयोग गरेका थिए भने चालक बाहिरबाट लगेका थिए । २०७८ को बाढीले क्षति गरेका कारण पानी पठाउने सुरुङको मुखमा अस्थायी संरचना मात्र रहेको छ ।