
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) की वरिष्ठ सहायक मैना थापा रासस सेवाबाट निवृत्त हुनुभएको छ । विसं २०४३ माघ १ गते सहायक दोस्रो तहमा प्रवेश गर्नुभएकी उहाँ ३८ वर्ष नौ महिना १५ दिनको रासस सेवापछि यही कातिक १५ गते वरिष्ठ सहायक (पाँचौँ तह)बाट निवृत्त हुनुभएको हो । रासस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा रासस व्यवस्थापन, नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखा रासस, राससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियनका तर्फबाट उहाँलाई बिदाइ गरियो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको इतिहासमा करिब चार दशक सेवा गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा श्रीमती थापालाई धन्यवाद दिँदै सेवा निवृत्त जीवन सफल होस् भन्ने कामना गर्नुभयो ।
उहाँले सकारात्मक सोचसहित सफलतापूर्वक जिम्मेवारी पूरा गर्नुभएकी सेवा निवृत्त थापाको यसपछिको पारिवारिक एवं सामाजिक जीवन पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक सन्दीप राईले राससको इतिहास निर्माण तथा विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले थापाले सम्पादन गर्नुभएका असल पदचापको संस्थाले अनुशरण गर्ने बताउनुभयो । प्रशासन प्रमुख शीतलप्रसाद महतोले वरिष्ठ सहायक थापाले संस्थाका लागि गर्नुभएको योगदान र जिम्मेवारीबारे जानकारी गराउनुभयो । सेवा निवृत्त हुनुभएकी थापाले प्रत्येक कर्मचारीले आफूले काम गरेको संस्थाप्रति सदैव गौरव गर्नुपर्नेमा जोड दिँदै राससको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियन तथा पत्रकार महासङ्घ प्रतिष्ठान शाखाका तर्फबाट सेवानिवृत्त थापालाई उपहार प्रदान गरी बिदाइ गरियो ।
रासस