२०८२ फाल्गुन २३ , शनिवार

एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी

Gorakha

सुनाखरी न्युज/ काठमाडौं ।

गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँको साथमा रहनुभएका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए ।
रासस