
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका छन् । यसले पार्टीभित्रको विवाद झनै चर्काएको छ । बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अनौपचारिक कुराकानी भएको थियो ।
बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ थापा दिउँसो १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले आफ्नो समूहको अप्ठ्यारो सुनाउँदै एक दिनका लागि पर्खन आग्रह गरेपछि थापा सानेपाबाट बाहिरिएका थिए ।
कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ । यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए । कार्यसम्पादन समितिमा सहमति जुटाएर केन्द्रीय कार्यसमितिमा कार्यतालिका प्रस्तुत गर्ने थापाको योजना संस्थापन पक्षको असहमतिले सम्भव नभएपछि उनले जानकारीका लागि सार्वजनिक गरेका थिए ।
बैठकमा कार्यतालिका लैजान सहमति नदिने अर्कोतर्फ केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत नगरेर बाहिरबाहिर सार्वजनिक गर्ने भन्दै संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूले बोल्न थालेपछि थापामाथि एकपक्षीय रूपमा भए पनि कार्यतालिका प्रस्तुत गर्न दबाब बढेको छ । ‘शुक्रबार सहमति भएन भने एकपक्षीय रूपमा भए पनि कार्यतालिका प्रस्तुत गर्ने सम्भावना छ’ थापानिकट एक केन्द्रीय सदस्यले भने ।
कार्यवाहक सभापति खड्काले बिहानको अनौपचारिक बैठकमा मंसिर मसान्तभित्र वडा र पालिका तहसम्मको अधिवेशन सक्ने गरी तालिका ल्याउने, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन निर्वाचन पछाडि गर्ने गरी कार्यतालिका बनाउन प्रस्ताव गरेका थिए । तर, थापाले केन्द्रीय महाधिवेशन निर्वाचन अगाडि हुनुपर्ने अडान राखेपछि कार्यतालिकाको विषयमा कुरा नमिलेको अर्का एक पदाधिकारीले बताए ।
शर्माले बिहीबार प्रस्तुत गरेको विकल्पमा थापाले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गरेको २७–२९ मंसिरको नियमित महाधिवेशनकै तालिका पहिलो बुँदामा उल्लेख छ । यसमा सहमति नभएमा उनले विशेष महाधिवेशनका लागि दुई विकल्पका लागि कार्यवाहक सभापति खड्काको ध्यानाकर्षण गराएका थिए ।
महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि २९ असोजमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दोस्रो बुँदा थियो । विशेष महाधिवेशन बोलाउँदा केन्द्रीय कार्यसमिति आफैंले बोलाउने पहिलो प्राथमिकता, केन्द्रीय कार्यसमिति तयार नभएमा हस्ताक्षरकर्ताले माग गरेबमोजिम बोलाउनुपर्ने दोस्रो प्राथमिकतामा उल्लेख गरेका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कार्यतालिका ल्याउने विषयमा विवाद नभएको भन्दै समयबारे मात्रै कुरा नमिलेको बताए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले भने अधिवेशन नगरेर भन्दा गरेर निर्वाचनमा जानु पार्टीलाई धेरै लाभ हुने बताए । ‘