
सुनाखरी न्युज/ काठमाडौं ।
जेनजी आन्दोलनको बेला गत २३ र २४ भदौमा भएको काठमाडौं प्रहरीको इञ्चार्जको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटेका छन् ।
आज निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् ।
बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारी छुट्दा पाँच एसएसपी डीआईजीका लागि सिफारिस भएका छन् ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौमा अभिनारायण काफ्ले छन् ।
तर अधिकारीको हकमा भने जेनजी घटनाको छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा छुटाइएको छ।
जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
त्यसपछि अधिकारी सहित काठमाडौं प्रहरी परिसरको टिम नै परिवर्तन गरिएको थियो ।
जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । कार्की विरुद्ध सर्वोच्चमा रिट समेत दायर भएको छ ।
२०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा अधिकारी थिए।
तर जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख रहेका उनलाई हेडक्वाटर फिर्ता गरेर एसएसपी रमेश थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो।
२०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनले २०५६ मा प्रहरी निरीक्षकमा नाम निकालेका थिए।