
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई साताभित्र हुने भनिएको भेट अनिश्चित बनेको छ । अल जजिराका अनुसार दुवै उच्च अधिकारीहरुलाई उदृत गर्दै भेट अनिश्चित रहेको उल्लेख गरेको छ ।
ट्रम्प र पुटिनबीच गत बिहीबार भएको टेलिफोन वार्तापछि दुई राष्ट्रपतिबीच हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको थियो । दुई साताभित्रै भेट हुने खबर सार्वजिनक भए पनि मिति र समय भने सार्वजनिक गरिएको थिएन ।
तर झण्डै दुइ साताभित्र हुने भनिएको भेट अनिश्चत रहेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको छ । अलजजिराले ह्वाइट हाउसका एक उच्च अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘राष्ट्रपति ट्रम्पको रुसी राष्ट्रपतिसँग निकट भविष्यमा भेट्ने कुनै योजना छैन ।’
रुसी राष्ट्रपति कार्यलयले पनि भेटवार्ता छिट्टै हुने सम्भावना नरहेको बताउँदै यसका निम्ती समय लाग्ने बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि यति दिन भित्रै भेट्ने भन्ने त्यस्तो कुनै समय तय नभएको बताउँदै तयारी आवश्यक रहेको बताएका छन् ।
सीएनएनले पनि अमेरिकी राष्ट्रपतिको रुसी समकक्षीसँग तत्कालै कुनै भेटवार्ता हुने योजना नरहेको उल्लेख गरेको छ । सीएनएनका अनुसार गत मंगलबार मात्रै पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफूहरुले के गर्दैछौं भन्नेबारे दुई दिनभित्र सार्वजनिक गर्ने कुरा बताएका थिए ।
सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धविरामको निकासा खोज्दै भेटवार्ताको प्रयास भएको थियो । यसअघि पनि अमेरिकाको अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । त्यतिबेला युद्धविरामबारे कुनै ठोस निर्णय हुन सकेको थिएन् ।