२०८२ फाल्गुन २३ , शनिवार

पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

handcuffs

सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद रु छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ ।”

प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ । यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरुको साथबाट छ बुक तास र नगद रु दुई लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)