२०८२ फाल्गुन २२ , शुक्रवार

लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग एक हजार ६५० मेगावाट, १०१५ मेगावाट बिजुली भारत निर्यात

Ktm Laxmi Puja

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ ।

 

लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गत वर्षको भन्दा यसवर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ४८ मेगावाट बढी हो ।

 

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा २५३ मेगावाट निर्यात गरिएको थियो ।