
सुनाखरी न्युज/ काठमाडौं ।
कात्तिक बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिनुभएको घर मकवानपुरको मनहरी गाउँपालिका-९ की मिठुमाया सुनारलाई हस्तान्तरण गर्नुभएको छ । आज यहाँ एक कार्यक्रम आयोजना गरी उहाँले घरको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गर्नुभयो । उहाँहरूलाई सम्मानजनक जीवनयापन गराउन, विकासको पूर्वाधारणलाई पारदर्शी बनाउँदैती वर्गलाई उपलब्ध गराउने उद्देश्यले आफू राजनीतिमा होमिएको उहाँको भनाइ छ । मुख्यमन्त्री बानियाँले सरकारले प्रदेशका १३ जिल्लामा क्रमशः रु दश लाख भन्दामाथिका विभिन्न टुक्रे आयोजनालाई अब ठेक्का प्रणालीबाट निर्माण गर्ने नीति तर्जुमा गरिसकेको जनाउनुभयो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको दुर्गम भेगमा बसोबास गर्ने विपन्न नागरिकलाई खानेपानीको धारा वितरण गर्नुका साथै अति विपन्न, दलित, आदिवासी, जनजाति र चेपाङलाई आवश्यकताअनुसार आयआर्जनका लागि मौसमी तरकारी, चिउरीखेती लगाउन आर्थिक सहयोग उपलब्ध गरेको जानकारी दिनुभयो । घरको साँचो लिँदै सुनारले पतिको केही वर्षअघि निधन भएको बताउँदै एकमात्र छोरा पनि अपाङ्गताका कारण बेसाहरा भएको उल्लेख गर्नुभयो । सुनारको घर पानी चुहिने, झुप्रो भएकाले स्थानीयले मुख्यमन्त्री बानियाँलाई जानकारी दिएपछि उहाँले आफ्नो निजी खर्चमा घर बनाइदिनुभएको मुख्यमन्त्रीको प्रेस संयोजक सुजन बिडारीले जानकारी दिनुभयो ।मुख्यमन्त्री बानियाँको सेवासुविधाबाट प्राप्त रकममध्ये रु चार लाखको लागतमा तीन कोठा, शौचालय र नुहाउने कोठासहितको घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कालाखेती जानकारी दिनुभयो ।
मुख्यमन्त्रीको खर्चमा राक्सीराङ गाउँपालिका-९ इन्द्रदङका सुमन सिं चेपाङ प्रजाका लागि निमार्णाधीन घर अहिले द्रुतगतिमा काम भइरहेको बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले बताउनुभयो । यही कात्तिकको अन्तिम सातासम्ममा प्रजालाई सो घर हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरमा आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल हायु, वनकरियालगायत अति विपन्न समुदायका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्ने विषयलाई उच्च प्राथामिकतामा राखिएको बागमती प्रदेश सामाजिक मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।
रासस