२०८२ फाल्गुन २३ , शनिवार

जेनजी प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

Messenger_creation_A3B3EE40-0F62-43F3-994A-37D6883554E1

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने(रोशन)को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ । उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक(रेफ्रि)लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गर्नुभयो । देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो । प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिका तथा गोलञ्जोर, फिक्कल, तीनपाटन, सुनकोसी, ध्याङलेक, मरिण र हरिहरगढी गाउँपालिकासहित नौ वटा भलिबल टिमको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । ‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा उहाँका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित हुनुहुन्थ्यो ।
रासस