२०८२ फाल्गुन २५ , सोमवार

घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन

Capture

सुनाखरी न्युज / काठमाडौं।

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ । तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन । हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनुभयो । गृहमन्त्रालयले पठाएको घाइतेको सूचीमा बागलुङ घर भएको बताइए पनि एकिन ठेगाना नखुलेको उहाँको भनाइ छ । काठमाडौँ र पोखरामा भएको प्रदर्शनमा युवाहरू घाइते भएका थिए । प्रशासनले ती युवाहरूको खोजी गरिरहेको गुरुङले जानकारी दिनुभयो ।प्रदर्शनमा घाइते युवालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । घाइतहरूले राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएको भए पनि राहत रकम लिन नआएको उहाँको भनाइ छ । गृह मन्त्रालयले पाँच जना घाइतेका लागि जनही रु २० हजारका दरले जम्मा रु एक लाख पठाएको छ । घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिनु भएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत हुनुहुन्छ । उहाँको हालै ठेगाना पत्ता लागेको छ । त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ ।
रासस