
सुनाखरी न्युज/काठमाडौं ।
नेपाल तेस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो । ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् ।
बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै ८ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दै छ ।
बुधबार दिनको खेलमा कतारले जापानलाई ३ विकेट र यूएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रो पटक विश्वकपमा पुग्न सफल भएका हुन् । सन् २०२३ मा काठमाडौंमा भएको एसिया छनोटबाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान नै विश्वकपमा पुगेका थिए ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । नेपाल र ओमान यस संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९ औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका छन् । गत संस्करणको ट्वान्टी–२० विश्वकपबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज तथा आईसीसी वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए ।