२०८२ फाल्गुन २४ , आइतवार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ, पूर्वउपराष्ट्रपति पुन अनुसन्धानमा

Mahara Pun

सुनाखरी न्युज/ काठमाडौं ।
सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइबार पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा महरामाथि अनुसन्धान अघि बढाइएको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर  दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।

त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए । पछि भेप सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलको सहयोग लिएका थिए ।

सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य खुलेको थियो । त्यस प्रकरणमा भन्सारका कर्मचारी र एजेन्टविरुद्ध सुरुमा मुद्दा दायर भएकामा पछि २४ असोज २०८० मा राहुल महराविरुद्ध पूरक मुद्दा अदालतमा लगिएको थियो । पूर्वसभामुख महराविरुद्ध भने सूक्ष्म अनुसन्धान नै हुन सकेको थियो जबकि भेप छुटाउन आफूले विमानस्थलका कर्मचारीलाई फोन सम्पर्क गरेको स्वीकार गरेका थिए । महराको परिवारसँग चिनियाँ सुन तस्करहरूको सम्बन्ध २ दशकअघिबाटै रहेको पनि खुलेको थियो ।