२०८२ फाल्गुन २४ , आइतवार

सर्वोच्च अदालतले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च अदालतले असोज २८ गते मंगलबारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।

सर्वोच्चको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।

जेनजी प्रदर्शनको क्रममा  भदौ २४ गते सर्वोच्च अदालतमा आगो लगाइएको थियो। उक्त आगलागीमा परि सर्वोच्च अदालतमा भएका झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार नयाँ मुद्दा दर्ता हुने जानकारी कानुन व्यवसायी र नेपाल बार एशोसिएशनलाई दिने तयारी छ।

मंगलबारबाट नयाँ मुद्दा दर्ता भएसँगै सोही दिनबाट सुनुवाइ सुरू हुनेछ।

यसअघि महान्यायाधीवक्ता सहित बारका पदाधिकारीहरुले नयाँ मुद्दा दर्ता गरेर अघि बढ्न सर्वोच्च अदालतलाई सुझाव दिएका थिए। महान्यायाधीवक्ता सविता भण्डारीले पुनारावेदन मुद्दा सर्वोच्चमा दर्ता गरेर अघि बढ्न तयार रहेको बताएकी थिइन्।

सर्वोच्च अदालत परिसरमै भएको एनेक्स भवनमा दुई वटा इजलास बस्ने व्यवस्था प्रशासनले मिलाइ सकेको छ। कर्मचारीहरु भने नयाँ निर्माणाधीन भवनको भुइतल्लामा बस्नेछन्।

आउँदो छठ पछि नयाँ भवनमा केही इजलास समेत बस्ने गरि तयारी भइरहेको छ।

सर्वोच्च अदालतले हाल बन्दीप्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य स्थगन गर्दै आएको छ।