
सुनाखरी न्युज/ काठमाडौं।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रमुख तीन दलका शिर्ष नेता र नातेदारहरुको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
विभागले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनीहरूको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालेको हो।
ओलीमाथि गिरीबन्धु टि इस्टेट, गोकर्ण फरेष्ट रिसोर्ट लगायतमा नीतिगत भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति कमाएको आरोपमा उजुरी छ । प्रचण्डमाथि नक्कली लडाकु प्रकरणका क्रममा अनियमितता गरेको आरोप छ भने देउवा दम्पत्तिमाथि सार्वजनिक पदको दुरुपयोग गरेर सम्पत्ति जोडेको उजुरी छ। ‘तिनै उजुरीलाई आधार मानेर उहाँहरुले कतै गैरकानूनी सम्पत्तिआर्जन वा सम्पत्ति व्यवस्थापन गर्नुभएको रहेछ कि भन्ने आशंकामा अनुसन्धान थालेका हौं’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘थप विवरण केही दिनमा थाहा होला।’
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आगजनीबाट क्षतिग्रस्त तीन दलकै नेताहरुको घर तथा निवासमा गएर स्थलगत खानतलासी गर्नुका साथै जलेका पैसाहरुको मुचुल्का गरेको थियो। त्यसक्रममा सार्वजनिक रुपमा उपलब्ध भिडियोहरुको डिजिटल फरेन्सिक परीक्षणका लागि प्रहरीको ल्याबमा पठाउने काम भइसकेको छ।