२०८२ फाल्गुन २९ , शुक्रवार

घर तोडफोड र लुटपाट प्रकरण : वडाध्यक्षसहित १३ जनाविरूद्ध जाहेरी

siraha-cotlogdekz

सुनाखरी न्युज/ काठमाडौं ।

कल्याणपुर नगरपालिका–८ अरङ्गाउँको ठूलो पोखरीको डिलमा बसोबास गर्दै आएको दलित बस्ती तोडफोड र लुटपाट प्रकरणमा पीडितहरूले वडाध्यक्ष रामकिशोर यादवसहित १३ जना विरुद्ध जाहरी दिएका छन् । दशैंको रमझम चलिरहेकै बेला गत शुक्रबार दिउँसो गुण्डागर्दी शैलीमा प्रहरीकै अगाडि घर तोडफोड गर्ने र लुटपाटमा संलग्न स्थानीय प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीसहितको भिडलाई अन्यत्र बसेर उक्साएको आरोप लागेका वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको हो । पीडितहरूले इलाका प्रहरी कार्यालयमा आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएको बताए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र सिंहलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको बताए । करिब ६ दशकभन्दा बढीदेखि सार्वजनिक पोखरीको डिलमा झुपडी बनाएर बसोवास गर्दै आएका पासमान समुदायका दलितहरूको उठीबास गराउन नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका यादवले केही दिनअघि वडाबाट सिफारिस समेत दिएको उल्लेख छ । ‘सार्वजनिक पोखरीको डिल खाली गराउन भनेर वडाले सिफारिस दिएको भर्खरै सुन्यौं तर अहिलेसम्म कसैले पनि त्यो विषयमा भनेका थिएनन,’ बस्तीका करिब ५४ वर्षीय राजकुमार पासमानले भने ‘दलितलाई जे गर्दा पनि हुन्छ भन्ने सामन्ती सोचको कारणले मेलामा भएको सामान्य विवादको निहुँमा हाम्रो झुपडी तोडफोड र लुटपाट गरियो ।’

१ असोजमा गाउँमा ल्याइएको आर्केष्ट्रामा मदिरा सेवन गरेर पुगेका स्थानीय प्रभास सिंह राजपुतसँग दलित युवाहरूको सामान्य विवाद भएपछि उनले बस्ती उठाइदिन्छु भन्दै धम्क्याएको पीडितहरू बताउँछन् । त्यसलगत्तै कल्याणपुर प्रहरीमा ३ असोजमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका पीडितहरू १२ असोजमा राखिएको छलफलमा पुगे पनि स्थगित भएपछि २१ असोजका लागि तोकिएको स्थानीय सोभित पासमानले बताए । स्थानीय प्रभास सिंह, नितेश सिंह, सलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइन, रामनारायण सिंह, लक्ष्मी सिंह लगायत २०–२५ जनाको समूहले शुक्रबार दिउँसो करिब २ बजेतिर घर तोडफोड गर्नुका साथै घरमा रहेका सामान, सुनचाँदी, नगद लुटेर लगेको पीडितहरूले बताए । पीडितहरूका अनुसार उक्त समूहले राजकुमार पासमान, सोभित पासमान, रासलाल पासमान, बिन्दे पासमानर अशोक पासमानको घर तोडफोड गर्दै घर आँगनमा रहेको केरा, कागती, आँप, अम्बाका बोट भाँच्नुका साथै सुनचाँदीका गहना, नगद, अनाज फर्निचार लुटपाट गरेर लगेका थिए ।