
सुनाखरी न्युज/ काठमाडौं ।
हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् । मारिएका व्यक्तिको पहिचान भीम महाबहादुर जोरा ( ३९) को रूपमा भएको छ। नेपालको लालपुरका स्थायी बासिन्दा जोरा दिल्ली, गुरुग्राम, गुजरात र बेंगलुरुमा हत्या, डकैती र चोरीका धेरै घटनामा खोजी सूचीमा थिए। दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । भीम जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न नेपाली गिरोहका नेता थिए । उनीविरुद्ध थुप्रै आपराधिक मुद्दा दर्ता थिए । तीमध्ये, मे २०२४ मा दिल्लीको जांगपुरामा डा . योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपा मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरबाट २० लाख रुपैयाँ चोरी गरिएको घटना प्रमुख छन् ।
चोरीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले जोराका एक सहयोगीलाई नियन्त्रणमा लिएपछि सोधपुछमा जोरा नै योजनाकार रहेको खुलेको थियो । सोमबार राति भएको कारबाही गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा सञ्चालन गरिएको थियो ।