
सुनाखरी न्युज/ काठमाडौं ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १ देखि १० मंसिरभित्र राजनीतिक दल दर्तासहितको चुनावी कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बसेको पदाधिकारी बैठकले कार्यतालिका पारित गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्नेछ । आयोगमा हाल १२२ वटा राजनीतिक दल दर्ता छन् ।
नयाँ दल बनाएर आगामी निर्वाचनमा भाग लिन चाहने समूहले चुनावका लागि दल दर्ताअगावै अर्थात् ३० कात्तिकअघि नै आयोगमा दल दर्ता भएको प्रमाणपत्र लिइसक्नुपर्नेछ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले १८ र १९ पुसमा बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ ।