२०८२ फाल्गुन २५ , सोमवार

प्रहरी हाई अलर्टमा, ओली र लेखकविरुद्धको जाहेरी दर्ता गर्न जेनजीको दबाब

Kp-oli-ramesh-lekhak

सुनाखरी न्युज/ काठमाडौं।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न जेनजी अगुवा सुदन गुरुङको समूहले प्रहरीलाई दबाब दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ ।

जेनजी समूहले ओली र लेखकलाई गिरफ्तार गरेर फौजदारी मुद्दा चलाउन दबाब दिँदै परिसर अगाडी घेराउ गरेका छन् । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको प्रदर्शनबारे जाँचबुझ गरिरहेको भन्दै प्रहरीले जाहेरी नलिएपछि उनीहरुले प्रहरी कार्यालय अगाडी बसेर दबाब दिएका हुन् ।

जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । काठमाडौँका संवेदनशील ठाउँमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । ती अधिकृतले भने– ‘प्रहरी कर्मचारीलाई एकत्रित गरेर तैनाथ गरिएको छ ।’

भद्रकालीस्थित परिसरमा कार्यरत प्रहरी कर्मचारीलाई पनि कार्यालयमा बोलाएर स्ट्याण्डबाई राखिएको परिसरका एक जना अधिकृतले बताए ।