२०८२ फाल्गुन २३ , शनिवार

२० र २१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

vitamin-A

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

तर, यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।