२०८२ फाल्गुन २४ , आइतवार

काठमाडौँ र ललितपुरमा आजको बिदा खारेज, सरकारी कार्यालयहरू नियमित सञ्चालन

cdo ktm

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।

 

मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका हुन्। लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न गत असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो।

काठमाडौँ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२-०६-२० सोमबार बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।’

 

 

यस्तै, ललितपुर प्रशासनले पनि गृह मन्त्रालयको निर्देशनअनुसार सोमबारदेखि सबै सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

 

 

यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएसँगै राजधानीका दुवै जिल्लामा बिदा खारेज गरिएको हो।

यससँगै काठमाडौँ र ललितपुरका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सोमबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएका छन्।