२०८२ फाल्गुन २४ , आइतवार

खोरेत रोग नियन्त्रणमा

khoret_1_8vR9LNC747

सुनाखरी न्युज/ काठमाडौं।

हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेका पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो । “खोरेत रोगबाट पशु चौपाया मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ,” पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भन्नुभयो, “अहिले रोग नियन्त्रणमा आइसकेको छ ।” खोरेत रोग प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको प्रमुख ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार भदौको पहिलो सातादेखि सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ । खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभावित भएकामा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् ।
रासस