२०८२ चैत्र १ , आइतवार

क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा

tarakeshwor-municipality1_DGXmlh5rrM

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी युवाहरूको प्रदर्शनी र आगजानीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ ।आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी र जनप्रतिनिधिले सफा गरेर आजदेखि कामकाज नियमित रूपमा सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले राससलाई जानकारी दिनुभयो । “गत भदौ २३ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका कारण २९ सम्म नगरपालिका र मातहतका वडाको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा सरसफाइ गरेर काम सञ्चालनमा आएको हो,” उहाँले भन्नुभयो । आन्दोलनका क्रममा तारकेश्वर नगरपालिकाका पाँचवटा गाडी, एक डोजर र १२ मोटरसाइकलमा आगजनी भएको प्रवक्ता खड्गीले बताउनुभयो । यसबाहेक राजस्व शाखा, कानुन शाखा र इन्जिनियरिङ शाखामा समेत क्षति पुगेको छ । जेनजी आन्दोलनका कारण तारकेश्वरका चारवटा वडा पूर्ण रुपमा ध्वस्त भएका छन् । नगरपालिकाका–१, ४, १० र ११ मा क्षति पुगेको छ । क्षतिग्रस्त वडामा पनि आजदेखि टेबुल र कुर्सी राखेर सेवा सञ्चालन गरिएको प्रवक्ता खड्गीले बताउनुभयो ।
रासस