
सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाको रु ४५ लाख अनुदान सहयोग र स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन निर्माण भएको हो । भवन र खेलमैदान निर्माण भएपछि एक सय २५ घरपरिवारको बसोबास रहेको औलाका बासिन्दालाई खेलअभ्यास, प्रतियोगिता सञ्चालन, क्लब, आमा समूहको कार्यालय सञ्चालनमा सहज भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताउनुभयो ।“आर्थिक वर्ष २०७९/ ०८० देखि २०८१/८२ सम्म गाउँपालिकाले वार्षिक रु १५/१५ लाख बजेट विनियोजन गरेको पहिलो वर्ष खेलमैदान ढलान, दोस्रो वर्ष प्यारापिट र भवनको जग निर्माण भएको थियो”, उहाँले भन्नुभयो, “भवन ढलान, कोठा र सटर, छतमा रेलिङ निर्माण, रङरोगन र विद्युत् जडान गरेर आव २०८१/ ८२ मा भवन निर्माणलाई पूर्णता दिएको हो ।” भवनको दुईवटा सटर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएर क्लबको आम्दानीको स्रोत बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर पुनले बताउनुभयो । करिब ३० वर्षअघि ढलान गरिएको खेलमैदान उप्किएर जीर्ण बनेको थियो । खेलमैदानमा बास्केटबलको फाइवर बोर्ड पनि राखिएको छ ।
रासस