२०८२ फाल्गुन २६ , मंगलबार

अमेरिकामा सञ्चालित घुम्ती शिविरबाट २०४ जना लाभान्वित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा अमेरिकाको बोस्टनमा सञ्चालित दुईदिने कन्सुलर सेवा घुम्ती शिविरबाट दुई सय चार जना सेवाग्राही लाभान्वित भएका छन् । शनिबार र आइतबार सञ्चालित उक्त घुम्ती शिविरमा राहदानी नवीकरण, गैरआवासीय नेपाली परिचयपत्रको आवेदन सङ्कलन, अधिकृत वारेसनामा प्रमाणीकरण, कागजात प्रमाणीकरण, पर्यटक भिसा जारीलगायत सेवाहरु उपलब्ध गराइएको थियो । उक्त शिविरबाट एक सय ८० जनाले राहदानी (पासपोर्ट) नवीकरण, १७ ले एनआरएनए परिचयपत्र आवेदन, चारले पर्यटक भिसा र तीन जनाले अधिकृत वारेसनामा प्रमाणीकरण सेवा लिएका न्यूयोर्कस्थित महावाणिज्य दूतावासको कार्यालयले जनाएको छ । शिबिरबाट म्यासाच्युसेट्स राज्यसहित न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरूमा बसोबास गर्ने प्रवासी नेपालीहरु लाभान्वित भएका थिए । महावाणिज्यदूत ददिराम भण्डारीले जनताको घरघरमा पुगेर सेवा दिने नेपाल सरकारको नीति तथा योजना अनुरुप कन्सुलर सेवा घुम्ती शिविर आयोजना गरिएको बताउनुभयो । शिविरका लागि गैरआवासीय नेपाली सङ्घसहित यहाँस्थित अन्य स्थानीय सङ्घसंस्थाले सहयोग र सहजीकरण गरेका उहाँले जानकारी दिनुभयो ।
रासस