२०८२ फाल्गुन २३ , शनिवार

पर्यटकहरुलाई आवागमन सहजिकरण गर्न होटल संघ नेपालको आह्वान

HAN logo good Final

सुनाखरी न्युज/ काठमाडौं ।

होटल संघ नेपालले विज्ञप्ति मार्फत परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् युवाहरुको आत्माको चिरशान्तिको प्रार्थना गर्दै घाइते योद्धाहरुको स्तरीय स्वास्थ्य उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । युवाहरुको बलिदानबाट सिर्जना भएको नयाँ भविष्यको प्रारम्भ गर्ने वर्तमान संक्रमणकालमा देश र जनताको हितमा हुने वार्ता लगायतका सबै प्रयासहरुको सफलताको कामना गर्दै विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरुको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटल संघ नेपालले आह्वान गरेको छ ।

आसन्न चाडपर्व र पर्यटकीय सिजनको प्रारम्भ हुने समयमा सृजित नयाँ परिवर्तन र संक्रमणकालमा नेपालमा रहेका र आउने पर्यटकहरुको उचित व्यवस्थापनमा होटल लगायत आतिथ्य क्षेत्र सदा झैं क्रियाशील रहेको हुँदाहुँदै पनि यस कार्यमा सम्वद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भए गरेमा नेपाल आउने पर्यटकहरुबाट हुन थालेको अत्यधिक एवं अप्रत्यासित क्यान्सिलेसन केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ । होटल लगायतका निजी तथा सार्वजनिक सम्पत्तिहरुमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्वपूर्ण संरचनाहरु निर्माणमा देशकै सीमित साधन र स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटल संघ नेपालले अपिल गरेको छ । साथै, वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकहरुको उपयुक्त व्यवस्थापन एवं सहजिकरण गर्न होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको छ । र अलपत्र परेका पर्यटकहरुलाई होटल आवास आवश्यकता भए होटल संघ नेपालको हटलाइन सम्पर्क नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।