२०८२ फाल्गुन २३ , शनिवार

समस्याको जालोमा चाँगुनारायण मन्दिर

Chngunarayan Temple

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर उपयुक्त ऐन र मागबाट व्यवस्थापन नुहँदा अस्तव्यस्त बनेको छ । नेपालकै सबभन्दा पुरानो धरोहरका रुपमा परिचित १८ सय वर्ष अगाडि निर्माण भएको चाँगुनारायण मन्दिर सञ्चालन एवं व्यवस्थापन पुजारी, स्थानीयवासी र स्थानीय सरकारबीच चाँगुनारायण एकीकृत विकास कोषको रुपमा जान नसक्दा मन्दिरको अस्थितत्वमाथि नै सङ्कट पर्न थालेको छ । चाँगुनारायण मन्दिरका नाममा रहेका बिभिन्न समितिहरु र पुजारीहरुमै आरोपप्रत्यारोप छ भने जात्रा, पर्व चलाउन गुठीदेखि सरकारले समेत चासा नदिएको भन्दै समस्या मन्दिर संरक्षणमा चासो घट्दै गइरहेको छ । पुरातत्व विभागले यसको विकासमा प्रभावकारी कार्य गर्न नसकेको र गुठी संस्थानले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणमा चासो नदिएको, पुजारीहरुले भेटी व्यवस्थापन नगरेको, चाँगुनारायणको मूल मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर महादेव मन्दिरमा रहेका पुजारीबीच नै संघर्ष रहेको, भेटी पुजारी आफैले राख्ने गरेको, सत्तलमा समेत ताल्चा लगाएको, विदेशीलाई सत्तल भाडामा दिएको, सम्पत्तिको संरक्षण नभएको, मूलढोका र मन्दिर परिसरमै पसल सञ्चालन गरेको, मन्दिर क्षेत्रमै फोहोर थुपारिदिने गरेकोलगायत अनगिन्ती गुनासा र समस्याहरु जेलिएका छन् । यहाँका जात्रा पर्वमा अत्यावश्यक बाजालगायतका परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ ।

मन्दिर स्थापना र ऐतिहासिक पक्ष
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको प्राचिन सभ्यताको अद्भूत नमूनाको रुपमा रहेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदाको रुपमा चाँगुनारायण मन्दिरलाई चिनिन्छ । गोपाल बंशावलीअनुसार तेस्रो शताब्दीमा इसापूर्व ३२३ मा लिच्छवीकालीन राजा हरिदत्त वर्माद्वारा यस मन्दिर स्थापना गरेको मानिदै आएको छ । राजा मानदेवले आफ्नो पिताको मृत्युपछि दोष निवारण गर्न आफ्ना आमाको साथमा आएर चाँगुनारायणको पूजा गरेको र उहाँले ५२१ अर्थात इसापूर्व ४६४ मा मन्दिर परिसरमा गरुडको मूर्ति स्थापना गरी शिलालेख राख्नुभएको उल्लेख छ । नेपालको सबभन्दा पुरानो ऐतिहासिक शिलालेखको रुपमा चिनिन्छ । मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका राजा भास्कर मल्लले मर्मतसम्भार गरेको मानिन्छ । सन् १९७९ मा यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि मन्दिरले अन्तर्राष्ट्रिय पहिचान पाएको हो ।

वास्तुकलाको अनुपम नमूना मानिने यस मन्दिर दुई तह प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरमा काठ, इँटा, ढुङ्गा, धातुमा सुन्दर कलात्मकता पाइन्छ भने यहाँ कोरिएका मूर्तिहरू, ढोका तोरण, गङ्गा–यमुना देवी मूर्तिहरू र गरुड चढेको विष्णु प्रस्तर मूर्ति महत्वपूर्ण कलात्मक पक्ष मानिन्छ । काठका स्तम्भ र तोरणमा विष्णुका त्रिविक्रम, नरसिंह, बराह आदि अवतार, काली, गरुड, सिंह आदिको कलात्मक मूर्तिकला रहेका छन् । चाँगुनारायण मन्दिर भगवान विष्णुको स्वरुप भएकाले यहाँ परम्परागत रूपमा वैष्णव परम्परा अनुसार पूजा गरिंदै आएको छ । माघ शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, नागपञ्चमी, जनैपूर्णिमा यहाँ विशेष पूजा एवं मला लाग्ने गर्दछ । यहाँ दैनिक बिहान–साँझ नित्य पूजा गरिदै आएको छ ।

चाँगुनारायणबारे किम्बदन्ती
परापूर्वकालमा विशाल चाँपका जङ्गल रहेको दोलाशिखर स्वामीको नाममा चिनिने यस क्षेत्र पछि चम्पक (चाँप) र वन (गुँ) नामबाट “चाँगुनारायण” नामाकरण हुन गएको कथन छ । यहाँका ब्राम्हणले गाई पालेका थिए । सुदर्शन नामका गोठालोले गाई चराउने, दूध पुर्यउने गर्थे । धेरै दिन गाईले दूध नदिएको जानकारी पाएपछि ब्राह्मणले दूध चोर्ने व्यक्तिलाई काट्छु भन्दै तरबार बोकर आए । जङ्गलमा गाई चराउँदा एउटा ठूलो चाँप (चम्पक) को रूखमा पुगेपछि दूध आफैँ हराएकोे देखेर अचम्मित भए । त्यहीबेला त्यही रुखबाट एउटा कालोमान्छे निस्किएर हिडेको देखेर ब्राम्हणले टाउको काटिदिए । त्यसपछि भगवाण विष्णुले आफ्नो स्वरुको दर्शन दिएर आफूलाई श्राप मुक्त गरी सोही ठाउँमा भगवान विष्णु बसेको र गोठालाहरुलाई पुजारी बनाएको धार्मिक मान्यता रहँदै आएको छ ।

मन्दिरको संरक्षणमा नगरपालिकाको चिन्ता
चाँगुनारायण मन्दिरको दीर्घकालीन संरक्षणका लागि पशुपति विकास कोषको मोडालिटीमा सञ्चालन गर्न चाँगुनारायण नगरपालिकाले नेपाल सरकारलाई अनरोध गरेको छ । नगरप्रमुख खत्री भन्नुहुन्छ, “चाँगुनारायण मन्दिरलाई पशुपति विकास कोषको ढाँचामा लैजान हतार भइसक्यो । यसका लागि नगर कार्यपालिका बैठकले निर्णय गरेर सरकारलाई पत्राचार गरिसकेको छ, संस्कृति तथा पर्यटन मन्त्रालयलाई पनि पत्र पठाएर अनुरोध भएको छ । चाँगुनारायण मन्दिरलाई नेपाल सरकारले कोषमा लगेर छिट्टै व्यबस्थापन गर्न अनुरोध गर्दछाँै ।” नगरप्रमुख खत्रीले पटकपटक समिति र पुजारीहरुसँग बसेर मन्दिरलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिकाले प्रयास गर्दा पनि छलफलमा सहभागि नै नहुँदा समस्या समाधानतर्फ नबढेको बताउनुहुन्छ । चाँगुनारायणबाट काठमाडौँको हनुमानढोका हुँदै राष्ट्र प्रमुखसम्म, उत्तरमा साँखुसम्म यहाँको जात्रा, पर्व परम्परा जाने, माघमा स्वस्थानीको ब्रतमा यहाँ आउनै पर्ने जस्ता धेरै परम्पराहरु रहेकाले मन्दिर व्यबस्थापनमा सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ ।

विश्वमा चर्चामा रहेको यस मन्दिर विश्वभरका हिन्दू, बौद्ध र बैष्णव धर्मावलम्बीहरुको ठूलो आस्था रहेको बताउदै उहाँले भन्नुभयो, “यहाँका पुजारीहरु र स्थानीयको कुरा नै फरक छ, स्थानीयको अपनत्व जुटाउनै मुश्किल परेको छ । नगरपालिकाले पर्यटन शुल्कबाट उठाएको रकमभन्दा धेरै यहाँको विकासका लागि खर्च गरेका छौँ ।” उहाँले मन्दिरको विकास, लोप हुन लागेको जात्रा पर्वको संरक्षण गर्ने, त्यहाँको जग्गाको अवस्था, आयस्रोतको अवस्थालाई व्यबस्थित गर्ने र नगरपालिकाले बजेट थप गर्नु आफू नगर प्रमुख भएदेखि नै लागिरहेको बताउनुभयो । चाँगुनारायण मन्दिर यहाँका बासिन्दाको लागि सुनको कचौरा भएकाले यसलाई पित्तल हुनबाट जोगाउन, नगरपालिका, वडा कार्यालय, समितिहरु, स्थानीय समुदाय एक भएर लाग्नुपर्ने उहाँको भनाइ छ । नगर प्रमुख खत्रीले भन्नुभयो, “मन्दिर क्षेत्रको सिमांकन गर्ने, जग्गाको संरक्षण गर्ने, सबै व्यबस्थित गर्ने हो भने नगरपालिका मन्दिरका लागि रु २० करोडसम्म लगानी गर्न पनि तयार छ, तर स्थानीयले अपनत्व चाँही लिनु पर्छ, जथाभावी छाड्नु हुँदैन ।”

चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वभर प्रचार गर्नसके पर्यटकको ओइरो लाग्छ भन्दै उहाँले पशुपति मन्दिरमा आउने पर्यटकमध्ये दुई प्रतिशत वैष्णव धर्म मान्ने पर्यटकलाई मात्रै यस मन्दिरमा ल्याउनसके यहाँको आम्दानीले नै सबै खर्च धान्न सक्ने बताउन्नुभयो । चाँगुनारायण मन्दिरको प्रचारप्रसारकै लागि नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर पहिलोपटक नगरपालिकाले आउँदो असोज ११ गते मनाइने विश्व पर्यटन दिवस मन्दिरमै भव्यरुपमा आयोजना गर्ने भएको छ । मन्दिरमा एक महिने विष्णु पुराणको आयोजना गर्ने घोषणा गरेको छ ।चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादर तामाङ्गले चाँगुनारायणको संरक्षण र यहाँको सम्पत्तिको संरक्षणमा स्थानीय समुदाय, पुरातत्व विभाग र गुठी संस्थानले चासो दिन नसकेको औंल्याउनुभयो । वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले स्थानीयले जिम्मेवार बहन नगर्दा त्यहाँ उब्जिएका समस्याको दोष नगरपालिकालाई देखाउने गरिएको बताउनुहुन्छ । चाँगुनारायणको दीर्घकालीन विकासका लागि चरणबद्ध रुपमा समुदायस्तरले नै छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

पुरातत्व र गुठी संस्थानको यस्तो छ भनाइ

पुरातत्व विभाग दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख देवेन्द्र भट्टराईले विश्व सम्पदा सूचीमा रहेको यस मन्दिरमा स्थानीयले जथाभावी फलामको मेच राख्ने, मन्दिर प्रवेशद्वारमै जस्ताको टवस्था रहे यनेस्कोले सूर्चीबाट हटाउन सक्ने उहाँको भनाइ छ । जुनसुकै काम गर्दा पनि विभागसँग स्वीकृत लिएर गर्नुपर्नेमा जथाभावी भइरहेको भन्दै उहाँले मन्दिरका बिभिन्न संरचनाको पुनःनिमाणका लागि बजेट नहुँदा केही गर्न नसकेको बताउनुभयो । यता गुठी संस्थान जिल्ला कार्यालय भक्तपुरकी प्रमुख खिमा ओलीले मन्दिरमा मसिरमा हुने महास्नान पर्व गुठीले खर्च गरिदिने गरेको बताउदै अरु जात्रा, पर्व खर्च मन्दिरको विभिन्न गुठीका नाममा रहेको जग्गाबाट प्राप्त आयस्रोतबाट खर्च गर्नुपर्ने बताउनहुन्छ । उहाँले भन्नुभयो, “चाँगुनारायण मन्दिरको मल्लकालीन दरबार, महादेवको मूल मूर्ति, चाँगुनारायणको कूल मन्दिरलगायतका धेरै संरचना व्यक्तिले निजी बनाएर राखेको गुनासो र उजुरी स्थानीयबाट आएको हो, त्यसबारे अख्तियारले पनि लामो समयदेखि छानबिन गरिरहेको छ । संस्थानले पनि मुद्धा हेरिरहेको छ ।”

यसो भन्छन् मूल पुजारी

चाँगुनारायणमा मूल पुजारी एवं चाँगुनारायण मन्दिर विकास समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्याय पशुपति विकास कोष अनुरुप नै चाँगुनारायण विकास कोष बनाई सरकार मातहत ल्याएर मन्दिरको सम्पूर्ण व्यवस्थापन चलाउनु पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले २० वर्षदेखि यो आवाज उठाउँदै आएका छौँ । अहिले नगरप्रमुखले पनि कोषकैै ढाँचामा चलाउनुपर्छ भन्नु भएकामा हामी खुसी छौँ ।” यस मन्दिरमा तीन वटा सरकारी संस्थाका ऐन रहेको बताउदै उहाँले भन्नुभयो, “पुरातत्व ऐन यहाँ लागू छ, यो ऐनले पुरातत्व विभागसँग सहमति र स्वीकृतिबिना केही गर्न पाइँदैन भन्छ, अर्को गुठी ऐन यहाँ लागू छ, गुठी संस्थानले यहाँका परम्परागत रुपमा रहेको मन्दिर, पाटी पौवा, पुजारी, सबै गुठीको मातहत चल्नुपर्छ भन्छ, अर्को नगरपालिका ऐनले पनि स्थानीय सम्पदा स्थानीय सरकार मातहत छ भन्छ, अनि काम कसरी हुन्छ ?”

पुजारीलगायतलाई उचित तलबको व्यबस्थापन गरेमा मन्दिरका भेटी एकत्रित गरी सरकारी राजस्व कोषमा लैजान तयार रहेको मूल पुजारी राजोपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “चाँगुनारायणको मल्लकालीन राजदरबार र कूल देवताको मन्दिर एवं देवस्थलसहितको कित्ता नम्बर २१० रहेको बगैंचासहितको जग्गा हिनामिना भई व्यक्तिको नाममा जाँदा पनि गुठी संस्थान मूकदर्शक भएको छ । व्यक्तिको घरको कम्पाउण्डमा मन्दिरसहित पाँच फिट अग्ला मूर्ति चाङ्ग लगाएर राखिएको छ, ती सबै जग्गा एवं संरचना मन्दिरकै नाममा फिर्ता हुनुपर्छ ।”मुहाली बाजा, पञ्चेबावालगायतको अस्तित्व जोगाउन, मन्दिरका लागि फूल ल्याउन रु. ५५० देखि रु.पाँच हजारसम्म शुल्क लिएर विशेष आरतीको सुरुवात गरेसँगै केही राहत मिलेको बताउँदै पशुपतिनाथ मन्दिरमा गरिने पूजा विधि अनुसारनै चाँगुनारायण मन्दिरको नित्य पुजा विधि युगौदेखि चल्दै आएको बताउनुभयो ।

किलेश्वर मन्दिरका पुजारी शङ्करराज भट्टले मन्दिरको अवस्था देख्दा मुटु पोल्ने गरेको भन्दै अद्धितीय कलाले भरिपूर्ण चाँगुनारायणको अबस्था देख्दा दुःख लाग्ने गरेको बताउनुहुन्छ । उहाँले १०९० सालमा खरिद गरेको जग्गालाई बिवादित बनाएको बताउँदै गुठीले रोपनीको २०० देखि ३०० मा जग्गा बिक्री गर्नु दुर्भाग्य भएको बताउनुहुन्छ । छिन्नमस्ताका पुजारी कलासमान कर्माचार्य, मन्दिरका भडेँल नाइके श्रीकुमार भडेँल, मन्दिर व्यबस्थापन समितिका सदस्य दिनेश खनालले सरोकारवाला सबै निकाय एकै ठाउँमा बसेर समस्याको समाधान खोज्न सके चाँगुनारायणको बृहत्तर बिकास हुने बताउनु हुन्छ ।

रासस