२०८२ फाल्गुन २३ , शनिवार

मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा आज, नगर परिक्रमा गरिँदै

jibro chadna jatra

सुनाखरी न्युज/ भादगाउँ (भक्तपुर) ।

मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ  ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ९जिब्रो छेड्ने जात्रा० हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ ।

यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

 

दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छभने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग ९रुट० रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जनाभन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ्याएको व्यक्ति धेरै भएमा एक जनाभन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।

यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात् रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोहीअनुसार वीरेन्द्रभक्तले गत वर्ष पनि जिब्रो छेडाएर काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरिने भएको छ ।

 

सोहीअनुसार वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताए ।

जात्राको परम्पराअनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोहीअनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको हो । त्यसपछि बालकुमारी शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु, दरबार स्क्वायर, सुकुलढोका, दत्तात्रय मन्दिर, नवदुर्गा द्योछेँसम्म, सोही रुट फर्की टौमढी पाँचतले मन्दिर, वंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, निगुपुखु हुँदै बालकुमारीमा पुगेर जात्रा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वीरेन्द्रभक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएका हुन् । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जीवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन् । उनले दोस्रोपटक २०७९ मा जिब्रो छेडाएका थिए भने तेस्रोपटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।