
सुनखरी न्युज/ काठमाडौं ।
निजामती दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा कीर्तिपुरस्थित बागबानी केन्द्रमा वृक्षरोपण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा विभिन्न बिरुवा तथा फलफूलका प्रजाति रोपण गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले वृक्षरोपण कार्यको शुभारम्भ गर्दै भूक्षय नियन्त्रणमा वृक्षरोपण महत्त्वपूर्ण हुने तथा यस क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।वन मन्त्रालयका निमित्त सचिव शिवकुमार वाग्लेले निजामती सेवा दिवस मूल समारोहअन्तर्गत विभागले पर्ने वृक्षरोपण गर्दै आएको जानकारी दिनुभयो । विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले विभिन्न कारणले हुने भूक्षय नियन्त्रण तथा वातावरण संरक्षणका लागि वनजङ्गल जोगाउनुपर्नेमा जोड दिनुभयो ।
वागवानी केन्द्रका प्रमुख दिनेश सापकोटाले विभिन्न प्रकारका बिरुवा बिक्री गरेर केन्द्रले गत वर्ष रु एक करोड दुई लाख राजस्व सङ्कलन गरेको बताउनुभयो । केन्द्रले फलफूलको राष्ट्रिय स्रोत केन्द्रका रूपमा समशीतोष्ण र सुन्तला जातमा काम गर्ने, किसानलाई तालिम, प्रविधि उपलब्ध गराउन सहयोग गरिरहेको जानकारी दिनुभयो । कायृक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा, श्रम सचिव कृष्णहरि पुस्कर, विभिन्न मन्त्रालयका सहसचिव तथा महानिर्देशकलगायतको एवं निजामती कर्मचारीको सहभागिता रहेको थियो । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएको दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । यसपटक २२औँ निजामती सेवा दिवस मनाइँदै छ ।
रासस