२०८२ फाल्गुन २६ , मंगलबार

मानव बेचबिखन नियन्त्रण गर्न सङ्गठित रुपमा लाग्न जरुरी छः उपप्रधानमन्त्री सिंह

BBB_KTMIMG_4186

सुनखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सङ्गठित रूपमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवसका अवसरमा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहका हरेक वडा र टोलटोलबाट राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्तासहित सबै सङ्गठित भएर यसविरुद्ध लाग्न आह्वान गर्नुभएको हो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी सञ्जालका रूपमा फैलिएको अपराधजन्य कार्य हो । नेपालको विद्यमान संविधानले कसैलाई पनि बेचबिखन गर्न र दास बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । मानव बेचबिखन कार्यलाई नियन्त्रण गरी पीडित र प्रभावितको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।”

उहाँले अन्तरराष्ट्रिय श्रम सङ्गठन र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार विश्वमा पाँच करोड मानिस आधुनिक दासताको जीवन बिताइरहेको उल्लेख गर्दै गरिबी, विपन्नता र मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदि कारण यसले प्रश्रय पाइरहेको बताउनुभयो । “मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो । यो सामाजिक रुपमा निन्दनीय, कानुन रूपमा दण्डनीय हुनुका साथै समाजको कलङ्कका रूपमा रहेको छ । यस्ता प्रकृतिका जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नु हामी सबैको कर्तव्य पनि हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारका घटना हुन नदिन नेपाल सरकार गग्भीर रूपमा लागिरहेको र यसमा सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित सरोकार भएकाहरूको सहकार्य भएमा रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।
रासस