२०८२ फाल्गुन २३ , शनिवार

पद्मकन्या क्याम्पसको ७५औं वर्ष प्रवेश : प्रज्ञा प्रतिष्ठानमा भव्य “पीके नाइट” सम्पन्न

db437b47-9e9c-4171-af5f-ad27f9a02877

सभ्यता तिवारी/ सुनाखरी न्युज /काठमाडौं ।

पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो ७५औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भव्य सांगीतिक कार्यक्रम “पीके नाइट” आयोजना गरेको छ। महिला शिक्षामा ऐतिहासिक योगदान पुर्‍याउँदै आएको क्याम्पसको शैक्षिक यात्रा स्मरण गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा गीत–संगीत, हास्यव्यङ्ग्य, ऐतिहासिक समीक्षा तथा सम्मान कार्यक्रम प्रस्तुत गरियो।

 

कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, प्राध्यापक, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र कलाकारहरूको उल्लेख्य सहभागिता रह्यो। सुरुवातमा प्राचार्यले स्वागत मन्तव्य दिँदै पद्मकन्याले विगत सात दशकभन्दा लामो समय महिला शिक्षा, सामाजिक चेतना र शैक्षिक विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरे। उनले भविष्यमा गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए।

लोकप्रिय गायक–गायिकाले प्रस्तुत गरेका देशभक्ति, शास्त्रीय र आधुनिक गीतहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारे। विभिन्न नृत्य प्रस्तुति र सांगीतिक संयोजनले वातावरण झनै रौनकिलो बनेको थियो। यसैगरी चर्चित हास्यकलाकारहरूले प्रस्तुत गरेका व्यङ्ग्यात्मक स्केच र स्ट्यान्ड–अप कमेडीले दर्शकलाई खुबै रमाइलो गराए।

 

कार्यक्रममा क्याम्पसको इतिहासबारे विशेष समीक्षा पनि प्रस्तुत गरिएको थियो। स्थापना कालदेखिको संघर्ष, सामाजिक योगदान र वर्तमानसम्मको शैक्षिक उपलब्धिलाई चित्रण गर्दै क्याम्पसलाई नेपाली महिला शिक्षाको स्तम्भका रूपमा व्याख्या गरिएको थियो। यस क्रममा विभिन्न पुस्ताका पूर्वविद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै पद्मकन्याले दिएको शिक्षा र प्रेरणालाई सम्झिए।

यसै अवसरमा क्याम्पसका वरिष्ठ शिक्षक र योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले पद्मकन्याले आफ्नो जीवनमा पुर्‍याएको प्रभावबारे हर्ष व्यक्त गर्दै आगामी दिनमा अझै सफलताको शुभकामना दिए।

 

कार्यक्रमको अन्त्यतिर सांगीतिक धुन, उत्साह र तालीको गड्गडाहटले सम्पूर्ण सभाहल गुन्जायमान भएको थियो। विद्यार्थीदेखि पूर्वविद्यार्थीसम्म सबैले पद्मकन्या परिवारप्रति गर्वको अनुभूति गरेका देखिन्थे।

“पीके नाइट” केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई क्याम्पसको गौरवमयी इतिहास, संघर्ष र भविष्यप्रतिको संकल्पलाई उजागर गर्ने ऐतिहासिक अवसरका रूपमा सफलतापूर्वक सम्पन्न भयो।