२०८२ फाल्गुन २७ , बुधवार

राष्ट्रिय सभाले सच्यायो ‘कुलिङ अफ पिरियड’ को छलछाम

Rastriya Sabha 2082

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभाले  ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छलछाम सच्याउँदै मंगलबार संघीय निजामती विधेयक सर्वसम्मतिले पारित गरेको छ । विधेयकमा प्रतिनिधिसभाले गरेको कतिपय संशोधन पनि राष्ट्रिय सभाले उल्ट्याएको छ ।

 

राष्ट्रिय सभाले निजामती सेवाका सहसचिव, सचिव र मुख्यसचिव (विशिष्ट र प्रथम श्रेणी) लाई दुईवर्षे ‘कुलिङ अफ पिरियड’ लाग्ने प्रावधान गरेको छ । यसअघि सबै तह र श्रेणीका निजामती कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ को व्यवस्था गरिएको थियो । राष्ट्रिय सभाले दुई वर्षसम्म राजदूत पनि बन्न नपाउने व्यवस्था स्पष्ट पारेको छ ।

‘संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने छैन,’ राष्ट्रिय सभाले व्यवस्था गरेको छ ।

यसअघि प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा ‘कुलिङ अफ पिरियड’ का सम्बन्धमा विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था गरिएको थियो । तर त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको थियो ।