
सुनाखरी न्युज/ काठमाडौं ।
संवत् २०८२ साल कार्तिक १७ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा रिक्त गण्डकी प्रदेशको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०८२ साल भदौ १९ गते देखि संवत् २०८२ साल भदौ २५ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि निवेदन दिनका लागि देहाय बमोजिमको सूचना जारी गरिएको छ।
1. दल दर्ताको लागि निवेदन दिँदा निवेदनमा खुलाउनु पर्ने विवरण तथा पेश गर्नुपर्ने कागजातहरु:-
(क) राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन,
(ख) दल सम्बन्धी विवरणः राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल,
वेबसाइट र सामाजिक सञ्जालको खाता,
(ग) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या,
(घ) पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति …….. र आ.व ……..
(ङ) उपनिर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(च) आ.व.२०८०/०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर,
(१) आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन,
(२) आर्थिक वर्ष २०८१/८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन,
(छ) आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत,
(ज) उम्मेद्वारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नंम्बर सहितको दस्तखत नमूना,
(झ) दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र,
(ञ) दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)।
अन्य थप जानकारीको लागि आयोगको सचिवालय वा टेलिफोन नं. ०१-५३२३१८२, ०१-५३२८६६३ मा सम्पर्क राख्न सकिनेछ।