
जन्मदिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिडेपछि बालिकाको विचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दिपा गिरीलाई छाडेर हिडेपछि कारुणिक अवस्था सिर्जना भएको छ । बालिकाको बुवा टीकाराम गिरीको गत पुसमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि टुहुरी बनेकी दिपा अहिले आमा बेपत्ता हुनासाथ थप विचल्लीमा परेकी छन् । उनी मावली घर सिद्धकुमाख –२ सालघारीमा बस्दै आएकि छन् ।
माइतिघरमै बसिरहेको अवस्थामा गत असार ३२ गतेका दिन विहानै खाना नखाएर २० महिने बालिका दिपाकी आमा घर छाडेर हिँडेपछि अबोध बालिकाको विचल्ली भएको हो ।अहिलेसम्म खोजी गर्दा पनि सम्पर्कमा आउन नसकेको बालिकाकी मावली हजुरआमा धाइरी वोहराले बताउनुभयो । घर छाडेको दुई दिनपछि आफूले मोवाइलमा छोरीसँग कुरा गर्दा गाडिमा चढेर भारत जान लागेको बताए पनि त्यसपछि सम्पर्क टुटेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “मेरो एकमात्र छोरी हो, कस्ती छोरी जन्माएछु । दुधे बालखलाई अलपत्र छाडेर कोसँग कहाँ हिडी । आफैले जन्मदिएको सन्तानको पनि मायाँ नहुने कस्तो निर्दयी रैछे ।” पछिल्लो पटक नातिनी दिपा धेरै विरामी परेपछि उनको जीवनरक्षाका लागि श्रीनगरमा उपचारका लागि हजुरआमा आउनुभएको छ । अति न्यून दृष्टिको समस्याका कारण आँफै विरामी अवस्थामा रहेकी हजुरआमा धाइरीले नातिनीलाई श्रीनगरस्थित सल्यान कर्णाली अस्पतालमा भर्ना गर्नुभएको छ । उपचारका लागि पैसा समेत नभएपछि अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स श्रीनगरका शाखा प्रबन्धक दिपेन्द्रकुमार शाहीले उहाँहरुको खानाको व्यवस्थापन गरिदिनुभएको छ । अस्पतालका पदाधिकारीहरुको भनाइअनुसार बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । हेरचाह आवश्यक छ । मावली धाइरीले नातिनीको स्याहार सुसार गर्न निकै कठिन भएको बताउनुभयो । “म आफैं आँखा नदेख्ने, शरीरले पनि साथ दिँदैन । नातिनीको मायाँ त धेरै लाग्छ, तर हेरचाह गर्न गाह्रो हुन्छ” उहाँले पीडा सुनाउनुभयो । बालिकाको बुवाको निधन भइसकेको छ । आमा वेपत्ता भएपछि घरपरिवारमा अरु कोही नहुनु र मावली घरमा अशक्त हजुरआमाको काखमा २० महिनाकी अबोध बालिकाको विचल्ली छ । आमा वेपत्ता भएपछि केही समय अघिसम्म लगातार रुने कराउने गरेकी उनी अहिले विस्तारै आमालाई बिर्सदै गएकोजस्तो देखिने घरपरिवारले जनाएको छ । अहिले दिपा आफ्नो मामासँग सुत्छिन् ।